अष्ट्रेलियाबाट पनि रुसी कूटनीतिज्ञ निकाला
काठमाण्डौं, चैत १३ – ब्रिटेनमा पूर्वरुसी गुप्तचरमाथि स्नायु प्रणालीमा असर पार्ने विषालु पदार्थको प्रयोग गरी हमला गरिएको प्रतिक्रियास्वरूप रुसी कूटनीतिज्ञहरूलाई देशनिकाला गर्ने मुलुकहरूमा पछिल्लो पटक अष्ट्रेलिया थपिएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले दोस्रो विश्वयुद्धपछि युरोपमा पहिलो पटक रासायनिक अस्त्रको प्रयोगबाट ‘स्तब्ध पार्ने प्रकृतिको हमला’ गरिएकोले दुईजना रुसी कूटनीतिज्ञलाई निकाला गर्ने आदेश दिइएको बताएका छन् ।
यसअघि संयुक्त राज्य अमेरिका, क्यानाडा र युरोपका अरू मुलुकहरूले संयोजित प्रतिक्रियास्वरूप जासुसी गरेको आरोपमा सयभन्दा बढी रुसी कूटनीतिज्ञहरूलाई देशनिकालाको आदेश दिएका थिए ।
सोभियतकालीन युगको दुर्लभ विषालु पदार्थको प्रयोगबाट हमला गरिएका पूर्वरुसी जासुस सेर्गेइ स्क्रीपाल र उनकी छोरी गम्भीर बिरामी रहेको ब्रिटेनले जनाएको छ ।
No comments